काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बीना अनुमति श्रमिक लिने र दिने कम्पनीलाई कारवाही गरेको छ ।
विभागले काठमाडौं मेडिकल कलेज र श्रमिक आपूर्तिकर्ता कम्पनी फाल्कन सर्भिसेस प्रालि र कमल पोखरी सपोर्ट सर्भिस प्रालिलाई कारवाही स्वरुप २/२ लाख रुपैयाँ जरिवाना गरेको हो ।
गत माघ १० मा विभागले गरेको अनुगमनमा सिनामंगलमा रहेको कलेजले श्रमिक आपूर्तिकर्ताको अनुमति नै नलिएका कम्पनीमार्फत श्रमिक लिएकाले उक्त जरिवाना गरिएको विभागले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ ।
कलेजले फाल्कन सर्भिसेस प्रालि र कमल पोखरी सपोर्ट सर्भिस प्रालिसँग श्रमिक आपूर्ति गरेको कम्पनीमा अनुगमनमा गरेको थियो । उक्त अनुगमनका क्रममा कमजोरी पत्ता लागेसँगै विभागले तीनै कम्पनीलाई कारवाही गरेको हो ।
अनुगमनमा कैफियत पाइएपछि विभागले यही चैत ६ गते जरिवाना तिराउने निर्णय गरेको विभागका प्रवक्ता इ. मणिनाथ गोपले जानकारी दिए।
विभागले श्रमिकको हकहित र सुरक्षाबारे अनुगमन गरी कैफियत पाइएको अवस्थामा कारबाही प्रक्रिया समेत अघि बढाएको उल्लेख गरेको छ ।

