काठमाडौं । ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज चैत्र १२ गते मंगलबार बिहान शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले फागुन २७ गतेदेखि चैत्र ३ गतेसम्म आम सर्वसाधारणलाई १४ लाख ७६ हजार कित्ता शेयर निष्काशन गरेको थियो । क्यापिटलका अनुसार यस आईपीओमा २० लाख ५६ हजार ५ सय ७६ जनाले २ करोड ४५ लाख २९ हजार ५ सय ९० कित्ताको लागि आवेदन दिएका थिए । जस मध्ये १८ लाख ४८ हजार २ सय ९८ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ।
माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपीओ गोलाप्रथा मार्फत बाँडफाँड गरिएको छ। जसमा १ लाख ४७ हजार ६ सय जनाले मात्र १० कित्ताको दरले शेयर पाउने छन् । बाँकि आवेदक भने हात खाली भएका छन् । आईपीओ नतिजा केही समयपछि सार्वजनिक हुने छ।
कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफांड गरिसकेको छ । नेपाल धितोपत्र बोर्डले माघ ३ गते कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको थियो ।

