काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनुको १० कारण सार्वजनिक गरेको छ ।
डेडिकेटेड फिडर तथा ट्रङ्क लाइन ग्राहकहरूको बक्यौता रकम असुलीको विषयमा सरकार र घिसिङबीच मनमुटाव सुरु भएको थियो । घिसिङले बक्यौता उठाउन जोडबल गरेतापनि सरकारी असहयोग गर्दै आएको थियो । तर, सरकारले कुलमानलाई बर्खास्ती गर्दा मुख्य कारण नै डेडिकेटेड फिडर तथा ट्रङ्क लाइन ग्राहकहरूको बक्यौता रकम असुलीको रहेको पाइएको छ ।
यस्तै, अनधिकृत निर्णय, गुटबन्दी र निर्देशन अवज्ञा गरेका कारण कुलमान घिसिङलाई पदबाट हटाइएको सरकारले जनाएको छ । विभिन्न प्रशासनिक, कानूनी, नीति(नियम उल्लंघन र कार्यसम्पादनसम्बन्धी कारणहरू देखाउँदै सरकारले कुलमानलाई बर्खास्त गरेको जनाएको छ ।
यस्तै, संघीय संसद र नेपाल सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिनु, सञ्चारमाध्यममा गोप्य दस्तावेज सार्वजनिक गर्नु लगायतका कारणले हटाउने निर्णय भएको पत्र कुलमानलाई पठाइएको हो ।
१. कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन समयमै नबुझाउनु
२. नेपाल–भारत ऊर्जा आदानप्रदान सम्झौतामा अधिकारविहीन हस्ताक्षर
सन् २०२४ मार्च ११ र २०२५ फेब्रुअरी १२ मा आयोजित १५औं र १६औं Indo-Nepal Power Exchange Committee (PEC) बैठकमा कुलमान घिसिङ वार्ता टोली प्रमुखको हैसियतमा सहभागी भए। तर, नेपाल सरकारको पूर्वस्वीकृति तथा सञ्चालक समितिको अनुमतिबिना भारतीय पक्षसँग सम्झौतापत्रमा हस्ताक्षर गरे, जुन अनधिकृत निर्णय थियो।
३. नेपाल सरकारको निर्देशन अवज्ञा गर्दै विद्युत खरिद सम्झौता
२०७७ साल साउन ५ गते मन्त्रिपरिषद्ले भारत तथा बंगलादेशसँग विद्युत खरिद-बिक्री सम्बन्धी सम्पूर्ण चरणहरूका लागि पूर्वस्वीकृति दिने निर्णय गरिसकेको थियो। कुलमान घिसिङले भारतमा विद्युत खरिद सम्झौताका लागि वार्तामा जानुअघि सञ्चालक समितिबाट अनुमोदन नलिई प्रक्रिया अघि बढाएका थिए, जुन प्राधिकरण ऐन २०४१ विपरीत छ।
४. ऊर्जा मन्त्री र सचिवको अनुपस्थितिमा अनधिकृत निर्णय
२०२५ फेब्रुअरी १२ मा ऊर्जामन्त्री दीपक खड्का र सचिव सुरेश आचार्य भारत भ्रमणमा रहेका बेला कुलमान घिसिङले नयाँ विद्युत दर तथा खरिद सम्बन्धी समझदारी गरेको दाबी गरे। तर, मन्त्रालयले उक्त सम्झौताका लागि कुनै आधिकारिक म्यान्डेट दिएको थिएन।
५. डेडिकेटेड फिडर तथा ट्रङ्क लाइन ग्राहकहरूको बक्यौता रकम असुल नगर्नु
२०८१ कार्तिक २५ गते मन्त्रिपरिषद्ले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनमार्फत विद्युत उपयोग गर्ने ग्राहकहरूको बक्यौता महसुल १५ दिनभित्र असुल गर्न निर्देशन दिएको थियो। मन्त्रालयले विद्युत प्राधिकरणलाई कार्यान्वयनका लागि पत्राचार गरे पनि कुलमान घिसिङले सो निर्देशन पालना गरेनन्।
६. अनधिकृत रूपमा विदेश भ्रमण तथा बिदा लिने प्रवृत्ति
नेपाल विद्युत प्राधिकरणको विनियमावली २०६१ को विनियम १८ र ३२ अनुसार कार्यकारी निर्देशकले सञ्चालक समितिको स्वीकृतिबिना विदेश भ्रमण गर्न पाइँदैन। कुलमान घिसिङले पटक–पटक स्वीकृतिबिना विदेश भ्रमण गरेका थिए।
७. सञ्चालक समितिका निर्णयहरूको कार्यान्वयन नगर्नु
प्राधिकरणको सञ्चालक समितिले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेका थिए, तर कुलमान घिसिङले ती निर्णयहरू कार्यान्वयन गर्न आलटाल गरेका थिए। जसले गर्दा संस्थागत सुधारका पहलहरूमा अवरोध पुगेको थियो।
मन्त्रिपरिषद्ले २०८१ फागुन २१ मा कुलमान घिसिङलाई आफ्नो बचाउका लागि सफाइ पेश गर्न निर्देशन दिएको थियो। तर, उनले मन्त्रिपरिषद्मा विधिवत् रूपमा सफाइ पेश गर्नु अगावै सञ्चारमाध्यममा आफ्नो पक्ष सार्वजनिक गरे। यसले उनको पदको दुरुपयोग देखिएको छ।
९. विद्युत प्राधिकरणभित्र गुटबन्दी सिर्जना गर्नु
नेपाल विद्युत प्राधिकरणमा कर्मचारीहरूबीच गुटबन्दी खडा गरी समग्र कार्यसम्पादनमा ह्रास ल्याएको आरोप उनीमाथि लागेको छ। यसको प्रत्यक्ष असर संस्थाको सञ्चालनमा परेको देखिन्छ।
१०. संघीय संसद र नेपाल सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिनु
एक सरकारी संस्थाका प्रमुखका रूपमा रहँदा उनले पटक–पटक संघीय संसद तथा नेपाल सरकारविरुद्ध अभिव्यक्ति दिएका थिए, जसले संस्थागत मर्यादा र पदको गरिमामा आँच पुर्याएको थियो।
कुलमान घिसिङले कार्यसम्पादन सम्झौताको उल्लंघन, अनधिकृत निर्णय, सरकारी निर्देशनको अवज्ञा, तथा प्रशासनिक कमजोरी देखाएपछि मन्त्रिपरिषद्ले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो। सरकारले नेपाल विद्युत प्राधिकरणको नेतृत्वलाई स्वच्छ, पारदर्शी र उत्तरदायी बनाउन सो कदम चालेको जनाएको छ।

