काठमाडौँ । नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ्ग प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ । बजारमा बढ्दो तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बुधबार बोलकबोलमार्फत ३० अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने तयारी गरेको हो ।
राष्ट्र बैंकले आज दिउँसो ३ बजे निक्षेप संकलनको बोलकबोल गर्नेछ । यो २१ दिने अवधिको निक्षेप संकलन उपकरण हो जसको साँवा तथा ब्याज वैशाख ३ गते एकैपटक भुक्तानी गरिनेछ ।
यस योजनाअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँको गुणात्मक भागमा बोलकबोल गर्न सक्नेछन् । निःशेष भाग छुट्टिने गरी कूल आह्वान रकमभित्र प्रतिस्पर्धात्मक दरमा बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
चैत महिनामै यो राष्ट्र बैंकको चौथोपटक तरलता प्रशोचन हो । यसअघि चैत ३ गते ३० अर्ब, चैत ६ गते २५ अर्ब र चैत १० गते २० अर्ब रुपैयाँ बजारबाट तानिसकेको छ ।
बैंकिङ प्रणालीमा बढी तरलता रहेकाले राष्ट्र बैंकले क्रमिक रूपमा मौद्रिक उपकरण प्रयोग गरी तरलता व्यवस्थापन गरिरहेको छ । बजारमा ब्याजदर अत्यधिक नघटोस भन्ने उद्देश्यले पनि राष्ट्र बैंकले यस्तो नीति अवलम्बन गर्दै आएको बताइएको छ ।

