काठमाडौं । उच्च अंकले घटेको शेयर बजार आज भने सम्हालिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १.७३ प्रतिशतले बढेको हो । ०.०६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६७१.८० अंकमा पुगेको छ ।
बजारमा झिनो सुधार देखिंदा विकास बैंक, होटल, हाइड्रो, लगानी, जीवन बीमा, म्युचुअल फण्ड र अन्य समूह राताम्मे भए भने बाँकी समूहमा हरियाली छायो । आज ३२१ कम्पनीका १ करोड ६ लाख ४३ हजार ४ सय ६९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३० करोड ९५ लाख ६८ हजार ९ सय ९७.४९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बोटलर्स नेपाल बालाजु, वीन नेपाल लघुवित्त र नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताहरुले क्रमशः १०, १० र ९.९९ प्रतिशतले नाफा कमाए ।
त्यस्तै बाराही हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.७२ प्रतिशतले घाटा व्यहोरे । आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको उच्च कारोबार भयो । उक्त कम्पनीको ५९ करोड १४ लाख ४२ हजार ५ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन रामनवमी पर्वको सार्वजनिक बिदाका कारण बजार बन्द रह्यो भने हिजो सोमबार ३२.४५ अंकले बजार घट्दा ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार ७ सय ६६.४० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

