काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुरसहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरु अख्तियारको नियन्त्रणमा लिएसँगै करोडौं रकम असुल्दै सेटिङमा सवारी लाइसेन्स वितरण हुने गरेको रहस्य खुलेको छ ।
नक्कली सवारी लाइसेन्स वितरण गरी मासिक ३ करोडभन्दा बढी रकम कलेक्सन गर्ने गरेको सूचना एवं उजुरीको आधारमा त्यहाँ टोली खटाइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
उनका अनुसार आयोगको कार्यालय, टंगाल र बुटवल साथै नेपालगञ्ज सम्पर्क कार्यालयको संयुक्त टोलीले यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, ज्यालादारीका सहायक कम्प्युटर अपरेट मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज, बाँकेका नासु मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टरका प्रोप्राइटर शरदकुमार गोराथोकीलाई नियन्त्रणमा लिइएको हो ।
साथै उनीहरूले प्रयोग गर्ने विद्युतीय उपकरण पनि बरामद गरी अनुसन्धान थालिएको आयोगले जनाएको छ ।

