काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको मूल आधार घर–परिवारको आर्थिक स्थायित्व भएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारणसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान आर्थिक अवस्था सुधार नगरेसम्म मुलुक समृद्ध बन्न नसक्ने स्पष्ट पारे।
'आम्दानीले घर नचल्ने अवस्थामा छ, अनि देश समृद्ध कसरी हुन्छ ?' भन्दै प्रधानमन्त्री ओलीले प्रत्येक नेपालीको खर्च धान्ने र केही बचत गर्न सक्ने स्थितिमा पुर्याउन सरकार प्रतिवद्ध रहेको बताए।
उनले उत्पादनशील क्षेत्रतर्फ केन्द्रित भई आर्थिक वृद्धि गर्ने खालका नीतिहरू आवश्यक रहेको औंल्याए। हामी बढी लाभ दिने चिजहरूतर्फ शिफ्ट हुनुपर्छ, प्रधानमन्त्री ओलीले भने, त्यसका लागि निजी क्षेत्रको सहकार्य अपरिहार्य छ।
प्रधानमन्त्री ओलीले सरकार उद्योग व्यवसायमैत्री नीतिको अभ्यासमा रहेको जानकारी दिँदै वान स्टप र वान डोर प्रणालीलाई प्राथमिकतामा राखिएको उल्लेख गरे। साथै, उद्योगी व्यवसायीहरूलाई अध्यादेशमार्फत राहत दिँदा सरकारलाई साथ दिएकोमा धन्यवाद पनि व्यक्त गरे।

