काठमाडौँ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बलेरो गाडीमा आगलागीमा परेर निधन भएका यात्रु र घाइते सबै एकै परिवारको भएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालयको अनुसार मे १च ३०११ नम्बरको बलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका–१० का १६ वर्षीया आध्या आचार्य, भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल, पौडेलकै श्रीमती ६९ वर्षीय सरिता पौडेल र सवारी चालक ताप्लेजुङ फुङलिङ नगरपालिका–१० का ४२ वर्षीय दुर्गा भट्टराईको रहेका छन् ।
बलेरोका चालक बाहेक मृत्यु भएका तीन जना र घाइते भएका ललितपुर–१० का ४५ वर्षीया सविना आचार्य र उनका १० वर्षीय छोरा भविमय आचार्य एकै परिवारको भएको पाइएको हो ।
बिदाको समयमा सबिनाले छारा र छोरीसँगै आफ्नो आमा बुबा (माइती) लाई सँगै लिएर पाथीभर मन्दिर दर्शन गर्न गएको पाइएको छ । मन्दिर जानका लागि बिहानै निस्कीएकी सबिनाले बाटोमै करेन्ट लागेर आफ्ना आमाबुबासँगै छोरीलाई समेत गुमाइन ।
मन्दिर दर्शनका लागि उनीहरु आइतबार बेलुका फुङलिङ आएका उनीहरू होटल प्यारिजमा बास बसेका थिए ।
होटलमा बास बसेपछि सविनाले होटल सञ्चालक सविन बानियाँलाई बिहान काफ्लेपाटीसम्म पुग्ने ट्याक्सी व्यवस्थापन गरिदिन आग्रह गरिन् । सविनले मालिकसमेत रहेका आफैं रहेका ट्याक्सी चालक फुङलिङ नगरपालिका–१० फुरुम्बु निवासी ४२ वर्षीय दुर्गा भट्टराईलाई सम्पर्क गराइदिए। सोमबार बिहान मन्दिरमा पूजा गर्ने गरी पुग्ने र दिउँसो फर्किहाल्ने गरी उनीहरू पाथीभरा जाने निधो भयो ।
चालक भट्टराई बिहान ३ बजेतिरै गाडी लिएर होटलमा पुगे । सविनाको टोली तयारी भएर निस्किँदा ३ ः ३० भयो। उनीहरू फुङलिङबाट काफ्लेपाटीतर्फ अगाडी बढे। सेवारो चोक भन्ने स्थानमा पुग्दा सडकमा खाल्टाखुल्टी थियो ।
वर्षौदेखि यही रुटमा गाडी कुदाइरहेका चालक भट्टराईले सडकको खाल्टो छल्दै विजुलीको पोल नजिकबाट गाडी अगाडि बढाए। उनले बिजुलीको तार माथिबाट झरेको पत्तै पाएनन्। तारमा बोलेरो जीप ठोक्किने बित्तिकै गाडीमा आगजनी भयो। करेन्ट प्रवाह भयो। उनीहरू गाडी छोडेर भाग्न समेत भ्याएनन् ।
ताप्लेजुङ अस्पतालमा प्राथमिक उपचारपछि सविनालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ । काठमाडौँको हेम्स अस्पतालमा चिकित्सक रहेका उनका श्रीमान्ले हेलिकप्टरबाट घाइतेहरूलाई काठमाडौँ लगेका हुन् ।
बिद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका प्रमुख सुरेश प्रसाद चौधरीले भने गए रातिको वर्षा र चट्याङले तारको पिन फुटाएका कारण तार लत्रिएको दाबी गरेका छन्।

