काठमाडौँ । राजस्व अनुसन्धान विभागले ध्रुव कन्स्ट्रक्सनका सञ्चालक ध्रुव देवविरुद्ध मुद्दा दायर गरेको छ । राजस्व चुहावटसम्बन्धी कसुरमा विभागले सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
ध्रुवले वस्तु तथा सेवाको हस्तान्तरण नगरी बिल बीजक मात्रै जारी गरेको, खरिद कारोबारको भुक्तानी बैंकमार्फत नगरेको, बीजकहरू सिलसिलेवार जारी नगरेको, मूल्य अभिवृद्धि कर विवरण र अय विवरण दाखिला नगरेको, आयकरको झुट्टा विवरण पेश गरेको मालसामान खरिदको स्रोत पुष्टि नभएको, सरकारलाई तर्नुपर्ने राजस्व नतिरी राजस्व चुहावट गरेको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
ध्रुवले मूल्य अभिवृद्धि करतर्फ ४५ करोड ८० लाख ८३ हजार ४३४ रुपैयाँ, आयकरतर्फ १४ करोड ६५ लाख ३१ हजार ८२४ रुपैयाँ गरी कुल ६० करोड ४६ लाख १५ हजार २५८ रुपैयाँ राजस्व चुहावट गरिएको पाइएको विभागको दाबी छ ।
विभागले उनी विरुद्ध १ अर्ब २० करोड ९६ लाख ३० हजार रुपैयाँ मागदाबी गर्दै मुद्धा दायर गरेको हो ।

