काठमाडौं । राजावादी शक्तिहरुले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् । उनीहरूले बिहीबार (आज) काठमाडौंमा ‘जनआन्दोलन घोषणासभा’ आयोजना गरेर आन्दोलन घोषणा गरेका हुन् ।
‘संविधानद्वारा प्रदत्त अधिकारको प्रयोग गर्दै उपरोक्त उद्देश्य प्राप्तिको निम्ति सशक्त जनदबाब सिर्जना गर्न जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौँ,’ घोषणा सभामा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले भने ।
राजावादीहरुले तीन सुत्रीय माग पनि जारी गरेका छन् । जसमा पहिलो सबै विचारधारा र शक्ति अटाउने संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको स्थापना, दोस्रो सर्वधर्म, समभाव, पूर्ण धर्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्रको स्थापना र तेस्रो केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा शक्ति हस्तान्तरणको मान्यताअनुरुप अहिलेको भन्दा बढी अधिकारसम्पन्न स्थानीय सरकार स्थापना गरी दुई तहको सरकार रहेको सुवेदीले बताए ।

