काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी जेठको तेस्रो सातादेखि जनयात्रा सुरू गर्ने तयारीमा जुटेको छ। रास्वपाले गत चैत २३ गते चितवनबाट जनयात्राको उद्घाटन गरे पनि अभियानलाई निरन्तरता दिन सकेको थिएन। अब भने जेठ १८ देखि २० गतेभित्र पुनः सुरू गर्ने गरी तयारी भइरहेको जनयात्रा संयोजक एवं रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए।
जनयात्राका क्रममा पार्टी नेताहरूले टोल–बस्तीमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, स्थानीय समस्यालाई सूत्रबद्ध गर्ने र संसदमा छलफलको विषय बनाउने योजना बनाएका छन्। प्रदेश इन्चार्जहरूसँग आवश्यक बैठक तथा छलफल गरिसकेको पार्टीले सातै प्रदेशमा अभियानलाई प्रभावकारी बनाउन रणनीति निर्माण गरिरहेको छ।
रास्वपाले जनयात्राको कार्यविधि पारित गरिसकेको छ। संयोजन समितिलाई पूर्णता दिइएको छ, जसमा सांसद डा. तोसिमा कार्की उपसंयोजक र सांसद निशा डाँगी प्रवक्ताको रूपमा रहनेछन्।
यसपटक चितवनजस्तो ठूलो सभा आयोजना नगर्ने निर्णय गर्दै, नेताहरू नागरिकसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने योजनासहित अभियान अघि बढाइने जनाइएको छ। अभियानको पहिलो चरण पूर्वी नेपाल, झापाबाट सुरू हुनेछ। रास्वपाले नागरिकका समस्यालाई उजागर गर्ने र सरकारी तहमा प्रस्तुत गर्ने जनयात्राको मुख्य उद्देश्य रहेको जनाएको छ।

