काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दावीसहित परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि बुधबार सुनुवाइ हुन नसक्ने भएको छ ।
मंगलबारको सुनुवाइपछि न्यायाधीश डा। नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले बुधबारका लागि निवेदनलाई निरन्तर सुनुवाइ गर्ने भनी हेर्दाहेर्दैमा राखेको थियो ।
तर बुधबार संवैधानिक इजलासमा बस्ने एक जना वरिष्ठ न्यायाधीश उपस्थित नभएकाले उनको सुनुवाइ प्रभावित भएको हो।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईंकेलका अनुसार संवैधानिक इजलासमा बस्न न्यायाधीस मनोजकुमार शर्मा उपस्थित छैनन्।
उनको सट्टामा न्यायाधीश नहकुल सुवेदी बस्नुपर्ने भएकाले रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट प्रभावित भएको प्रवक्ता कुईकेलले बताए।
मंगलबार रवि पक्षबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, सुरेन्द्र थापा, मेघराज पोखरेल, अधिवक्ताहरू नारायणदत्त कँडेल, जितेन्द्र झा, राजेन्द्र सेढाइँ, सुदिक्य पन्त लगायतले बहस गरेका थिए। वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पनि बहस गरेका थिए।
उनले अर्को इजलासमा रविको पक्षको बहस सक्काउने तयारी छ। रवि लामिछानेको वकिलहरूले बहस गरेपछि पूर्वडिआइजी छविलाल जोशीका वकिलहरूले पनि बहस गर्नेछन्।

