२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • प्रहरीले सक्यो तीनकुने घटनाको अनुसन्धान, आज...

प्रहरीले सक्यो तीनकुने घटनाको अनुसन्धान, आज मुद्दा दर्ता गर्ने तयारी

प्रहरीले सक्यो तीनकुने घटनाको अनुसन्धान, आज मुद्दा दर्ता गर्ने तयारी

शुक्रवार, जेठ ९ २०८२०९:५८
शुक्रवार, जेठ ९ २०८२०९:५८
  • images

    काठमाडौँ । प्रहरीले तीनकुने प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटसँग सम्बन्धित अनुसन्धान पूरा गरेको पाइएको हो । 

    गत चैत १५ गते राजावादी आन्दोलनमा भएको घटनाको अनुसन्धान गरेको प्रहरीले शुक्रबार प्रतिवेदन सरकारी वलिक कार्यालयमा पेस गर्ने तयारी गरेको हो । 

    सो घटनामा ६१ जनालाई प्रतिवादी बनाउने तयारी छ । उनीहरूविरुद्ध आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, संगठित अपराध कसुर, ज्यान मार्ने र ज्यान मार्ने उद्योगअन्तर्गतका चार कसुर लगाउने तयारी छ । 

    सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेले ६१ अभियुक्तविरुद्ध विभिन्न चार कसुर लगाएर शुक्रबार नै अदालतमा मुद्दा पेस गर्ने तयारी भएको बताए । 

    जिल्ला प्रहरी परिसर काठमाडौैंले गत १५ चैतदेखि नै घटनाको अनुसन्धान गर्दै आएको छ । घटनामा हालसम्म १७० भन्दा धेरै पक्राउ परेका थिए । जसमध्ये ५३ अभियुक्त प्रहरी हिरासतमै छन् । उनीहरूविरुद्ध बिहीबार मात्रै दुई दिनको म्याद थप भएको छ । 

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले अनुसन्धान लगभग टुंगिएको र प्रतिवेदन शुक्रबार सरकारी वकिल कार्यालयमा पेस हुने बताए । 

    गत १५ चैतमा राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले गरेको प्रदर्शन हिंसा, तोडफोड, आगजनी र लुटपाटमा परिणत भएको थियो । घटना अनुसन्धानको अवधि बिहीबार ५६ दिन पूरा भइसकेको छ । ५३ जनाविरुद्ध म्याद थप भएको अवधि शुक्रबार मध्यरातिसम्म मात्रै हो । सार्वजनिक बिदा भएकाले शनिबार अभियुक्तविरुद्ध म्याद थप गर्न मिल्दैन ।

    तीनकुने घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, जनआन्दोलन समितिका कमान्डर दुर्गा प्रसाईंलगायत १७० भन्दा धेरै पक्राउ परेका थिए । जसमध्ये ६१ विरुद्ध मात्रै आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, संगठित अपराध कसुर, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगअन्तर्गतको कसुर लगाइएको छ । बाँकीलाई भने हाजिर जमानीमा छाडिएको छ । 

    अभियोग लगाइएकामध्ये राणा र मिश्र हिरासतमुक्त छन् । वकिल कार्यालयका अनुसार नेताद्वयविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुर लगाइएको छ । समितिका कमान्डर प्रसाईंविरुद्ध पनि सोही कसुरअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी छ । 

    मुलुकी अपराध संहिता ऐन, २०७४ भाग २ को फौजदारी कसुर परिच्छेद १ मा राज्यविरुद्धको कसुरलाई व्याख्या गरिएको छ । ऐनको दफा ४९ को उपदफा ४ मा सार्वमौमसत्ता, भौगोलिक अखण्डता वा प्रादेशिक अखण्डता, राष्ट्रिय वा राष्ट्रिय एकता, नेपालको स्वाधीनता, स्वाभिमान वा संघीय इकाइबिचको सुसम्बन्ध खलल परिए राज्यविरुद्धको अपराध ठहरिन्छ । यदि कसैले ऐन उल्लंघन गरे कसुरदारलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्मको जरिवाना हुने भनिएको छ । 

    मिश्र, राणा र प्रसाईंसहित ११ जनाले ऐनमा व्यवस्था भएकोमध्ये घृणा, द्वेष वा अवहेलना उत्पन्न हुने खालका गतिविधि गरेको प्रहरी दाबी छ । यदि उक्त कसुरमा प्रमाणित भए मिश्र, राणा र प्रसाईंसहित ११ जनाविरुद्ध पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुनेछ । उनीहरूविरुद्ध संगठित अपराध पनि लगाइएकाले उक्त दफामा व्यवस्था गरिएकोबाहेक आधा सजाय थप हुनेछ । मिश्र, राणा र प्रसाईंसहित ११ जनालाई आपराधिक उपद्रव अपराधको कसुरमा पनि मुद्दा दर्ता हुँदै छ । पक्राउ परेकाविरुद्धको कसुर प्रमाणित भए कसुरदारविरुद्ध पाँच वर्षदेखि जन्मकैदसम्म हुने सक्नेछ । 

    तीनकुने हिंसात्मक घटनामा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो । प्रहरीका अनुसार ५६ करोड रुपैयाँभन्दा धेरैको धनमालमा आगजनी भएको थियो । 

    घटनामा आन्दोलनमा सरोकार नै नभएका भोजपुुरको रामप्रसाद राई गाउँपालिका– १ ओख्रेका ३० वर्षीय शम्भु दर्जी, भोजपुर टेम्केमैयुङ गाउँपालिका– ९ का २७ वर्षीय डिल्लीप्रसाद लुइँटेल, कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत २२ वर्षीया रेविका खत्री र उनका दाजु दिनेश खत्रीलाई गोली लागेको थियो । जसमध्ये खत्रीको अझै पनि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ । दर्जी र खत्री अपस्तालको नियमित फलोअपमा छन् । सरकारले उपचारमा खर्च नगरेको भन्दै खत्री अध्ययनरत कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले विरोध प्रदर्शन नै गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend