काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का शेखर कोइरालानिकट केन्द्रीय नेताहरूले सभापति शेरबहादुर देउवालाई भेटेर अहिलेको नेतृत्वबाट १२औं महाधिवेशन सम्भव नभएको भन्दै वैकल्पिक उपाय खोज्न आग्रह गरेका छन्।
आइतबार बूढानीलकण्ठस्थित देउवा निवासमा पुगेका प्रेमिका राना मगरको नेतृत्वको टोलीले महाधिवेशन सुनिश्चित गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो। उनीहरूले दुजाङ शेर्पा नेतृत्वको तदर्थ समितिको म्याद थप गरिए विरोध गर्ने र सामूहिक राजीनामा दिने चेतावनीसमेत दिएका छन्।
सभापति देउवाले नेविसंघको विषय पार्टी केन्द्रीय समितिबाट आवश्यक निर्णय गरिने आश्वासन दिएका छन्। यता संस्थापन पक्षले भने स्ववियु निर्वाचनका कारण महाधिवेशनको तयारीमा ढिलाइ भएको स्वीकार गर्दै तीन महिनाको म्याद थप भएमा महाधिवेशन गर्न सकिने दाबी गरेको छ। २०७८ साल चैतमा देउवाले दुजाङ शेर्पालाई अध्यक्ष बनाएपछि गठन भएको तदर्थ समितिको कार्यकाल हाल विवादको घेरामा रहेको छ।

