२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • होटल तथा रिसोर्टलाई उत्पादनमूलक मान्यता, हानले...

होटल तथा रिसोर्टलाई उत्पादनमूलक मान्यता, हानले गर्‍यो बजेटको स्वागत

होटल तथा रिसोर्टलाई उत्पादनमूलक मान्यता, हानले गर्‍यो बजेटको स्वागत

सीएनएन खबर
शुक्रवार, जेठ १६ २०८२०१:४१
सीएनएन खबर
शुक्रवार, जेठ १६ २०८२०१:४१
  • images

    काठमाडौँ । संघीय संसद्मा पेश भएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह आयकर र विद्युत महशुल छुट दिने घोषणाको होटल संघ नेपालले स्वागत गरेको छ ।

    संघका अध्यक्ष विनायक शाहले दशकौं देखिको यो माग पूरा भएकोमा नेपाल सरकार तथा विशेष गरी अर्थमन्त्रीलाई धन्यवाद ज्ञापन गर्दै सरकारको यो घोषणा होटल उद्योगले पु¥याएको योगदानको कदर भएको बताए ।

    अध्यक्ष शाहले नेपाली होटल उद्योगको बढ्दो क्षमताको अधिकतम उपयोग गर्न तथा पर्यटकको आगमन बढाउन बजेटले काठमाडौं, पोखरा, भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलको सेवा र सञ्जालको द्रुत विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने बताए ।

    पर्यटकीय गन्तव्य जोड्ने स्तरोन्नति भइरहेका राजमार्गहरूको समयवद्ध निर्माण, नेपाल एयरलाइन्सको सुधार, नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट बाहिर ल्याउने घोषणा महत्वपूर्ण रहेको पनि उनले बताए ।

    पर्यटन क्षेत्रबाट देशले पाउने व्यापक आर्थिक लाभ बढाउन बजेटले पर्यटकहरूको बसाई लम्बाउन र उनीहरूको खर्च बढाउन उच्च हिमाली, पहाडी, तराईका साथै प्रदेशका थप पर्यटकीय गन्तव्यहरूको विकास र पर्यटकहरूले गर्ने साहसिक, धार्मिक, सांस्कृतिक, चलचित्र, आरोग्य, खेल लगायतका पर्यटकीय गतिविधिहरू बढाउन लिइएको पहल सकारात्मक रहेको होटल संघ नेपाले जनाएको छ ।

    विश्वको प्रमुख प्राकृतिक गन्तव्य नेपालमा अधिकतम पर्यटकहरू आकर्षिक गर्न हरित पर्या–पर्यटनको विकासमा निकुञ्ज, आरक्ष, संरक्षित जंगल, सफारी, पर्यापदयात्रा लगायत हिल स्टेशन, आतिथ्य उद्योगको विकास र विस्तारका साथै प्रदूषण घटाउने कार्यक्रम घोषणा महत्वपूर्ण रहेको उनको भनाइ छ ।

    होटल संघ नेपालले सीमा क्षेत्रको पर्यटन गतिविधि क्रस बोर्डर टुरिजम बढाउन सीमा नाकाहरूमा स्वागत तथा सेवा केन्द्र, स्वयम्भूनाथ, हनुमानढोका, पशुपतिनाथ र बौद्धनाथ जस्ता युनेस्को सूचीकृत सम्पदाहरूमा सन्ध्याकालीन सम्पदामार्ग विकास गर्ने, देशैभरिका पर्यटकीय आकर्षण रहेका स्थलहरूमा सुरक्षित पर्या–पर्यटन पदमार्ग विकास गर्ने बजेटको सकारात्मक पक्ष रहेको संघको राय छ ।

    हवाइ वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा ल्याउन पाउने व्यवस्थाले पर्यटकलाई सुविधा तथा खर्च गर्ने क्षमता बढाउने जनाउँदै होटल संघ नेपालले भुकुटीमण्डपलाई अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने घोषणको स्वागत गरेको छ ।

    बजेटले आर्थिक कुटनीतिमार्फत पर्यटन विकासमा निजी क्षेत्र तथा गैरआवासीय नेपालीहरूको समेत सहकार्यमा गर्ने, आधुनिक प्रविधि उपयोग गरेर पर्यटन गतिविधि संचालन गर्ने बजेटको सवल पक्ष रहेको संघले जनाएको छ ।

    २ प्रतिशत विलाशिता कर र १३ प्रतिशत हवाई भाडामा लगाइएको मूल्य अभिवृद्धिकर नहटेको परिप्रेक्ष्यमा स्वदेशी पर्यटकीय सेवा महँगो भई कम प्रतिस्पर्धी भएको अवस्थामा घोषित पर्यटकीय विकासका कार्यहरू प्रभावकारी कार्यान्वयन गरी सेवाको स्तरीयता र प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको पनि संघले जनाएको छ ।

    नेपाली होटल उद्योगमा दक्ष जनशक्ति अभाव बढ्दै गएको अवस्थामा बजेटले दक्ष जनशक्ति उत्पादन तथा स्वदेशमा नै रहने व्यवस्थाका लागि अवलम्बन गरिएका बजेटका प्रावधानहरू संघले अध्ययन गर्ने जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend