काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार दिउँसो भएको भीषण आगलागीले बजार क्षेत्र पूर्णरूपमा ध्वस्त भएको छ। ग्यास सिलिन्डर विस्फोट भएर सुरु भएको आगोले करिब ४० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
दिउँसो करिब साढे ३ बजेतिर नवदुर्गा होटलमा रहेको ग्यास सिलिन्डर पड्किएपछि आगलागी सुरु भएको थियो। आगो तीव्र गतिमा फैलिँदा बजारमा रहेका टहरा शैलीका पसलहरू एकैपटक जलेका हुन्। बजारमा करिब १२० भन्दा बढी पसलहरू रहेको जनाइएको छ।
स्थानीय व्यवसायी रामबहादुर ऐडीका अनुसार उनले सञ्चालन गर्दै आएको खाद्यान्न पसल एकैछिनमा खरानी भयो।
'पसलको काउन्टरमा बिल काट्दै थिएँ, एक्कासी आगोको मुस्लो देखियो। आँखा अगाडि नै पसल जले। बाइक झिक्न पनि सकिएन,' – ऐडीको भने। बुढीगंगा नगरपालिकामा दमकल नहुँदा आगो नियन्त्रणमा लिन समस्या भएको छ। डोजर र पानीट्यांकरको सहायताले आगो निभाउने प्रयास गरिएको नगरप्रमुख रामबहादुर बानियाँले जानकारी दिए।
'दमकल छैन भन्ने कुराले यो अवस्था भयावह बनायो, उनले भने, 'अब क्षतिको विवरण संकलन र राहत वितरणको काम सुरु गर्दैछौं।' घटनास्थलमा प्रहरी निरीक्षक देवबहादुर चौधरीको नेतृत्वमा ३२ जना प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रारम्भिक विवरण अनुसार ७–८ वटा ग्यास सिलिन्डर विस्फोट भएको आशंका गरिएको छ। पसल मात्रै नभई कागजात, सामग्री, सामान सबै जलेको पीडा स्थानीयहरूको छ।
'खाता किताब मात्रै बचेको भए पनि हुन्थ्यो नि। अहिले त जीवन नै अध्यारो भयो,' – ऐडीले भने । सौभाग्यवश, मानवीय क्षति भने भएन। सबैले ज्यान जोगाउन सफल भए पनि अत्यधिक आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

