काठमाडौँ । गृह मन्त्रालयले मातहतमा कार्यरत ३७ जना कर्मचारीको काज फिर्ता गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन बमोजिम गृहले काजमा रहेका कर्मचारीलाई फिर्ता बोलाएको हो ।
उक्त निर्णय अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय र केही जिल्ला प्रशासन कार्यालयहरूमा दरबन्दीभन्दा बढी रहेका कर्मचारी फिर्ता हुनेछन् । उक्त निर्णय अुनसार काजमा रहेका ६ उपसचिव, १६ शाखा अधिकृत र बाँकी नायब सुब्बा (नासु) को काज फिर्ता भएको हो ।
केही समय अघि गृह मन्त्रालयअन्तर्गतका निकायमा दरबन्दीभन्दा बढी कर्मचारी राखिएको तथा दरबन्दी नभएका स्थानमा काजमा कर्मचारी खटाइएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरी पछि अख्तियारले २०८२/०२/१३ मा पत्र लेख्दै छानबिन र कारबाही गर्न निर्देशन दिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयलाई पत्र पठाएको थियो ।
निजामती सेवा ऐन, २०४९ को दफा १८ (क) र सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १५ अनुशार पत्राचार गर्दा नटेरेपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७(क) अनुशार कारबाहीको चेतावनीपछि शक्तिकेन्द्रको प्रभावमा काज सुविधा लिइरहेका कर्मचारीलाई फिर्ता गरिएको हो ।

