काठमाडौँ । काठमाडौं महानगरपालिकाका अघिल्ला प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार परियारसहित महानगरका ७ जना निर्देशक विरुद्ध मुद्दा दायर गरेको हो। ढलनिकाससम्बन्धी ठेक्कामा ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरेको अख्तियारको दावी छ। जसमा बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाल रहेका छन् ।
उक्त ठेक्का प्रक्रियामा समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३ सय २५ रुपैयाँ ६३ पैसा कबोल गरेको थियो भने कल्पवृक्ष कोहिनूर जेभीले २२ करोड ४० लाख ९४ हजार ६ सय १२ रुपैयाँ ९५ पैसा कबोल गरेको थियो ।
तर, कम कबोल गरेको समानान्तर निर्माण सेवा प्रालिलाई उक्त ठेक्का नदिइ कल्पवृक्षलाई दिएको भन्दै उजुरी परेको थियो । सो उजुरीउपर अनुसन्धान अघि बढाएको अख्तियारले बुधबार परियारसहित ७ जनालाई मुद्दा दायर गरेको हो ।
चार करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। यस मुद्दामा परियारसहित रविनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य लगायत प्रतिवादी छन्।
परियार मेयर बालेनले नै महानगर लगेका प्रशासकीय अधिकृत हुन्। उनी बालेनको विश्वाशिला पात्र मानिन्छन्। परियार हाल सूचना तथा प्रशारण विभागको महानिर्देशक छन् ।

