काठमाडौं । चितवनको यातायात व्यवस्था कार्यालयबाट कर्मचारी र बिचौलिया नगदसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयका सहायक (पाँचौँ) इन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठकलाई नियन्त्रणमा लिएको हो। गुरुङको कार्यकक्षबाट एक लाख ८५ हजार रुपैयाँसमेत बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।
यस्तै बिचौलिया सुरज पाठकलाई यातायात व्यवस्था कार्यालय भरतपुर चितवनको कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको हो। आज अख्तियारले यातायात कार्यालयसहित महालक्ष्मी ड्राइभिङ सेन्टर, गुरुङ ड्राइभिङ सेन्टर र कुमार ड्राइभिङ सेन्टर एकसाथ छापा हानेको थियो। यहाँ सवारी चालक अनुमति पत्र दिनका लागि वर्गअनुसारको १५ हजारदेखि २५ हजारसम्म रकम लिई फेल भएका प्रशिक्षार्थीलाई पास गराई कानूनविपरीत रकम सङ्कलन गरी भ्रष्टाचार गरेको उजुरीको आधारमा छापा मारिएको पौडेलले जानकारी दिए।
उनका अनुसार कार्यालय परिसरबाट कार्यालय प्रमुख विष्णु भट्टराई तथा अन्य कर्मचारीहरू र विभिन्न ड्राइभिङ सेन्टरका सञ्चालकहरूको विद्युतीय उपकरण मोबाइल थान–३१, ल्यापटप थान–२ र अन्य कागजातहरूसमेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए।
प्रेस विज्ञप्ति:- मिति २०८२।०२।३० गते ।
----------------------------------------------------
यातायात व्यवस्था कार्यालय, भरतपुर, चितवनका कार्यालय प्रमुख एवं कर्मचारीहरु र महालक्ष्मी ड्राईभिङ सेन्टर, गुरुङ ड्राईभिङ सेन्टर र कुमार ड्राईभिङ सेन्टर लगायतको मिलेमतोमा यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनबाट संचालन भएको सवारी चालक अनुमति पत्रको परीक्षा संचालन गर्दा फेल भएका परीक्षार्थीहरुबाट बिभिन्न वर्गका सवारी चालक अनुमति पत्र दिनका लागि वर्ग अनुसारको १५ हजारदेखी २५ हजारसम्म रकम लिई फेल भएका प्रशिक्षार्थीलाई पास गराई कानून विपरित रकम संकलन गरी भ्रष्टाचार गर्ने गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनका कार्यालय सहायक (पाँचौं) ईन्द्रजित गुरुङको कार्यकक्षबाट रु.१,८५,०००।–(एक लाख पचासी हजार रुपैयाँ) नगदसहित निज ईन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठक समेतलाई यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनको कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको, कार्यालय प्रमुख बिष्णु भट्टराई तथा अन्य कर्मचारीहरु र बिभिन्न ड्राइभिइ सेन्टरका संचालकहरुको बिद्युतिय उपकरण मोबाइल थान-३१ भन्दा बढी, ल्याप्टप थान-२ र अन्य कागजातहरुसमेत मिति २०८२।०२।३० गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

