काठमाडौं । बलात्कार मुद्दामा पक्राउ परेका मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेलले यौन दुर्व्यवहार गरेको ठहर भएको छ । काठमाडौं जिल्ला अदालतले शुक्रबार गरेको अन्तिम आदेशमा इन्जिनियर पोखरेलले यौन दुर्व्यवहार गरेको ठहर गरेको हो ।
आफ्नै घरमा काम गर्न राखेकी एक युवतीलाई बलात्कार गरेको आरोप इन्जिनियर पोखरेलविरूद्ध थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको इजलासले बलात्कारमा भने अभियोग दाबी नपुग्ने आदेश गरेको छ ।
२०८० साउन १२ गते प्रहरीले त्रिपुरेश्वरस्थित घरबाट इन्जिनियर पोखरेल पक्राउ गरेका थिए । उनीविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले बलात्कार कसुरमा मुद्दा दायर गरेको थियो। मुद्दा २०८० भदौ ५ गते जिल्ला अदालतमा दर्ता भएको थियो ।
अदालतले यौन दुर्व्यवहारमा परिणत हुने भन्दै त्यसमा दोषी ठहर गरेको हो ।

