काठमाडौँ । विरोधका बीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकलाई निरन्तरता दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा पनि रास्वपा र राप्रपापका सांसदहरुले अवरोध कायमै गरेका हुन् ।
विरोधका बीच सभामुखले संसद बैठक सन्चालन गरेपछि रास्वपा सांसदहरुले वेल घेराउ गरेका छन् । उनीहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र मानव तस्करी बन्द गर्नुपर्ने मागसहित नारा लगाइरहेका छन् ।
सभामुख देवराज घिमिरेले कार्यसूची अगाडी बढाउन खोजेपछि रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाए ।
भिजिट भिसा प्रकरणमा नाम जोडिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाका सांसदहरुले लगातार संसद अवरोध गर्दै आएका छन् ।
आजको बैठकमा रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई बोल्नको लागि समय दिएका थिए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जबसम्म अवरोधका बीच पनि संसद् बैठक चलाइन्छ, त्यतिबेलासम्म आफूहरूले यसमा भाग नलिने भन्दै बाहिष्कारको घोषणा गरे ।
त्यसपछि रास्वपाका सांसदहरुले वेल घेरेर नाराबाजी थालेका छन् । तर, विरोधकाबीच पनि सभामुख देवराज घिमिरेले भने हिजोजस्तै संसद् बैठक अगाडि बढाएका छन् ।

