२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • पूर्वमन्त्री शास्त्रीको निधनमा कांग्रेसले तीन दिन...

पूर्वमन्त्री शास्त्रीको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

पूर्वमन्त्री शास्त्रीको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

बुधवार, आषाढ ४ २०८२०१:१२
बुधवार, आषाढ ४ २०८२०१:१२
  • images

    काठमाडौं ।  नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको छ ।

    कांग्रेसको आज बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले उनको निधनमा शोक प्रस्ताव पारित गर्दै यही असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

    बैठकले असार ५ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोक सभा आयोजना गर्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    नेता शास्त्रीको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा यही असार २ गते निधन भएको हो । बैठकमा नेता शास्त्रीको आत्माको चीरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको उनले बताए ।

    विद्यार्थी जीवनदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका स्व शास्त्रीले प्रजातन्त्र पुन:स्थापनाको संघर्ष र आन्दोलनका क्रममा जेल जीवन र लामो समय भारत प्रवासमा जीवन बिताएका थिए । 

    स्व शास्त्री जननायक बिपी कोइरालाका अनुयायी, समाजवादी चिन्तक र प्रजातान्त्रिक समाजवादका व्याख्यातासमेत थिए । अर्घाखाँचीको किमडाँडामा विसं १९९३ जेठ २५ गते जन्मिएका स्व शास्त्री पटकपटक पार्टीको केन्द्रीय सदस्य हुनुका साथै विसं २०४८ र विसं २०५१ को आमनिर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 

    नेता शास्त्रीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति कांग्रेसले उच्च सम्मान प्रकट गरेको छ । उनको निधनबाट कांग्रेसले एक बौद्धिक, अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको मुख्यसचिव पौडेलले उल्लेख गरे । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend