काठमाडौैँ । दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको कार्यअन्तर्गत गरिएको ड्रिलिङ कार्यबाट प्राप्त प्रारम्भिक प्रतिवेदन चीनको जिओलोजिकल सर्वे कम्पनीले नेपाल सरकारलाई बुझाएको छ ।
दैलेखको एउटा खण्ड जलजलेमा गरिएको अन्वेषणको प्रतिवेदन सँगै दैलेखका अन्य तीनवटा स्थानमा पनि मिथेन ग्याँस रहेको र जुन ग्याँसले नेपाललाई ५० वर्षसम्म पुग्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदन अनुसार २०८१ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो कुवाको ड्रिलिङको काम चार हजार १३ मिटर गहिराइमा पुगेको थियो । उक्त स्थानमा एक अर्ब १२ करोड घन मिटर मिथेन ग्याँस भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ । चारवटा स्थानमा रहेका भण्डारणबाट करिब ५० वर्ष नेपाललाई पुग्नेगरि ग्याँस हुन सक्ने प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रारम्भिक प्रतिवेदनको नतिजाले देशको आर्थिक अवस्था सुधारमा निकै ठुलो टेवा पुराउने आशा गरिएको उद्योग मन्त्री दामोदर भण्डारीले बताए । भण्डारीले भने ‘ड्रिलिङका बेला संकलन गरिएका नमुनाहरू थप परीक्षणका लागि चीन पठाइएको थियो अहिले प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई प्राप्त भइसकेको छ ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले २०१६ मा चीन सरकारसँग जिटुजी सम्झौता गरी गौरवको आयोजनाको रूपमा लिनुभएको यो आयोजनालाई जसरी सरकारको प्राथमिकतामा राखेर काम गर्यो, सोही अनुसार चिनिया कम्पनीले पनि द्रुत गतिमा काम अगाडि बढायो, प्रारम्भिक प्रतिवेदनले आम नेपालीहरूको भविष्य सुन्दर हुनसक्ने आशा गरिएको छ ।
पहिलो भण्डारण कुवामा प्रारम्भिक एक अर्ब १२ करोड घन मिटर मिथेन ग्याँस भएको भेटिएको छ अन्य तीनवटा ग्याँस भण्डारणका कुवाहरू पनि दैलेखमै रहेका र जम्मा चारवटा कुवामा करिब चार सय ३० अर्ब घन मिटर मिथेन ग्याँस हुनसक्ने प्रारम्भिक प्रतिवेदनले देखाएकोले सरकार निकै उत्साहित भएको छ । यसको सबैभन्दा धेरै श्रेय सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई जान्छ ।’
यो सँगै अव दाङ, पाल्पा र सुनसरीमा पनि परीक्षण गर्ने कार्यलाई मन्त्रालयले विशेष रूपमा राखेको मन्त्री भण्डारीको भनाइ छ । सरकारले डिसेम्बरभित्र उत्पादन सुरु गर्ने गरी तयारी थालेको छ । करिब ६५ करोड लागतमा उत्पादन परीक्षण सम्पन्न हुने प्रारम्भिक प्रतिवेदनले देखाएकोले सोही अनुसार काम अगाडी बढाउने सरकारको तयारी रहेको भण्डारीले बताए ।
पेट्रोलियम अन्वेषण प्रवद्र्धन परियोजना प्रमुख दिनेश कुमार नापितले भने ‘नेपाल सरकार र चीन सर कारबिच २०१९ मा जिटुजी भएसँगै काम अगाडी बढेको थियो, धेरै खाले अध्ययनका कार्यक्रम सम्पन्न गरेर अहिले प्रारम्भिक नजिता आएको छ । नेपाल सरकारले दैलेखको जलजलेमा ४५ रोपनी जग्गा अतिक्रमण गरेर काम थालेको हो । नेपालको लागि अहिलेसम्मकै सबैभन्दा विस्तृत अध्ययनको रूपमा लिइएको यो परियोजनाले केही आशा जगाएको छ ।
प्रारम्भिक प्रतिवेदनमा मिथेन ग्याँस देखिएको र यसको परीक्षण उत्पादन सुरु गरेर ग्याँसको प्रकृति, व्यावसायिक उत्पादनका कामहरू अव सुरु हुने छन्। चीनको जिओलोजिकल सर्वे कम्पनीले २०२५ को डिसेम्बरमा अन्तिम प्रतिवेदन दिने तयारी गरेको छ । रिपोर्ट सम्पन्न पश्चात् डिसेम्बरभित्र व्यवसायिक उत्पादन परीक्षण सम्पन्न पछि यसको वास्तविक तथ्य बाहिर आउने छ ।
प्रारम्भिक प्रतिवेदनमा आएको कुराले नेपालको समृद्धिको आधार स्तम्भ दैलेख हुनसक्ने आशा पलाएको दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सम्झौता भएको यो परियोजना वर्तमानमा पनि ओली प्रधानमन्त्री भएकै बेलामा देशको मुहार फेरिने आशा गरेको थापाले बताए । नयाँ पत्रिकाको सहयोगमा

