काठमाडौँ । सुनचाँदी व्यवसायीहरुको आन्दोलनका कारण आज असार १५ गते सुनचाँदीको भाउ नै तोकिएको छैन । हरेक दिन बिहान १०ः३० बजे आसपास सुनचाँदीको भाउ सार्वजनिक हुने भएपनि आज भने मूल्य सार्वजनिक गरिएको छैन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यका अनुसार सुनचाँदी व्यवसायीहरुको आन्दोलनको कार्यक्रम अन्तर्गत आज भाउ नतोकिएको हो ।
उनका अनुसार आजबाट मूल्य तोक्न रोकिएको हो, अझै केही दिनसम्म यहीँ स्वरुपको आन्दोलन जारी रहने छ । ‘विकल्प केही निस्किन्छ कि भनेर त्यसतर्फ पनि सोचेका छौँ’ उनले भने ।
बजेटमार्फत सुनमा २ प्रतिशत विलासिता कर लगाइएको र गहनामा हिरा लगायतका बहुमूल्य पत्थर जडान गर्दा १३ प्रतिशत भ्याट लगाएको विरोधमा सुनचाँदी व्यवसायीहरु आन्दोलनमा छन् ।

