काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराधको मुद्दा जिल्ला अदालत काठमाडौंमा सोमबार दर्ता गरिएको छ।
नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो। पाठकले युट्युबमार्फत शेरबहादुर देउवा र आरजु राणा देउवाका छोरा जयवीर देउवाको विदेशी लगानीबारे कार्यक्रम प्रस्तुत गरेका थिए।
अभियोगपत्रमा भिडियो, स्क्रिनसट र कागजातहरू संलग्न छन् तर प्रहरीले पाठकको बयान भने लिएको छैन। उच्च अदालतको आदेशले पक्राउ नगर्न भनेपछि बयानबिनै मुद्दा दर्ता गरिएको हो।
विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार पाठकलाई १ लाख जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय माग गरिएको छ। अदालतमा उनलाई पक्राउ गर्न पुर्जी जारी गर्न माग गरिएको छ भने क्षतिपूर्ति भराउन पनि मागदाबी छ।

