काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथिको छलफल टुंग्याउने तयारीसँगै बोलाइएको प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
शिक्षामन्त्री रघुजी पन्तले परिस्थिति जटिल रहेको भन्दै विधेयक तत्काल पारित नगरी थप छलफल आवश्यक भएको बताएपछि बैठक स्थगित गरिएको हो। समितिका सभापति अम्मरबहादुर थापाले मन्त्रीको आग्रह स्वीकार गर्दै अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए।
“अहिलेसम्म भएका सहमतिबाट पछि नहट्ने गरी बैठक स्थगित गरेका छौं,” सभापति थापाले स्पष्ट पारे।
बैठक स्थगनको माग अघि शिक्षामन्त्री पन्तले प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। त्यसपछि सत्तागठबन्धनभित्र अझ छलफल आवश्यक देखिएको भन्दै उनले समय माग गरेका हुन्।
विधेयकमाथि जारी बहसको यो स्थगनसँगै संसद्को शिक्षा समितिमा लामो समयदेखि अघि बढिरहेको विधेयक प्रक्रिया फेरि अन्योलमा परेको छ।

