२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • एमाले, माओवादी र एकीकृत समाजवादीले मागे...

एमाले, माओवादी र एकीकृत समाजवादीले मागे खतिवडाको राजीनामा

एमाले, माओवादी र एकीकृत समाजवादीले मागे खतिवडाको राजीनामा

बुधवार, आषाढ १८ २०८२०१:३६
बुधवार, आषाढ १८ २०८२०१:३६
  • images

    काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विधेयकको विवाद चर्किएसँगै नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन्।

    मंगलबार बिहान बसेको समितिको बैठकमा सांसदहरूले सभापति खतिवडामाथि विधेयक प्रक्रिया लत्याएको, विश्वासघात गरेको र अनैतिक भूमिका खेलेको आरोप लगाउँदै तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन्।

    'नैतिकताको आधारमा बाटो खोल्नू' – पदम गिरी

    सत्तारुढ एमालेका सांसद पदम गिरीले सभापति खतिवडा र समितिका सचिव दुबै जना जिम्मेवार नभएको टिप्पणी गर्दै भने, ‘समितिले सर्वसम्मत रूपमा पारित गरेको कुलिङ अफ पिरियड २ वर्ष कायम रहने निर्णयलाई तोडमोड गरिएको छ। यस्तो गैरजिम्मेवार व्यवहारले उनीहरू नैतिक रूपमा समितिमा बस्न सक्दैनन्।’ उनले समितिको सचिवमाथिसमेत प्रश्न उठाउँदै सचिवले पनि पद त्याग गर्नुपर्ने बताए।

    'छानबिन समिति बनाउने बेला आयो' – वासुदेव घिमिरे

    एमालेकै सांसद वासुदेव घिमिरेले सभापति खतिवडा र सचिव दुराको राजीनामा माग गर्दै घटनाको छानबिन गर्न संसदबाट उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने धारणा राखे। सांसद राजेन्द्र राईले पनि सभापतिको भूमिकाले समितिको गरिमा गिराएको टिप्पणी गर्दै बाटो खोलिदिन आग्रह गरे।

    'समिति सभापतिले विधेयक नै पढ्न दिएनन्' – हितराज पाण्डे

    नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सभापति खतिवडाले पटक–पटक आग्रह गर्दा पनि विधेयक पढ्न नदिएको स्मरण गरे। उनले आरोप लगाए, ‘यो विश्वासघात हो। यस्ता कार्यले देशको अगाडि बढ्ने मार्ग नै बन्द हुन्छ।’

    उनको तर्क अनुसार राज्यव्यवस्था समितिबाट मात्र छानबिन समिति बनाउनु पर्याप्त हुँदैन, उच्चस्तरीय छानबिन आवश्यक छ।

    एकीकृत समाजवादीको पनि माग : को-को संलग्न छ, छानबिन होस्

    एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले विधेयकमाथि जालझेल गर्नेमा को-को छन् भन्नेबारे स्पष्ट छानबिन गर्न माग गरे। ‘छानबिन नभई यस्ता षड्यन्त्रको अन्त्य हुँदैन,’ उनले भने।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend