काठमाडौं । सभामुख देवराज घिमिरेले ‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समिति गठनका लागि राजनीतिक परामर्श सुरु गरेका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयअनुसार छानबिन समिति गठनका लागि संसद्का प्रमुख दलका प्रमुख सचेतकहरूसँग सभामुखले बुधबार छलफल गरेका हुन्।
छलफलमा समितिको कार्यक्षेत्र (टीओआर) र काम गर्ने मोडालिटीबारे प्रारम्भिक विचारविमर्श गरिएको छ। सिंहदरबारमा भएको छलफलमा समितिका सभापति रामहरि खतिवडा, एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए।
नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएपछि शीर्ष नेताहरूसँग थप परामर्श गरी छानबिन समिति गठन प्रक्रिया अघि बढाउन सुझाव दिएका छन्। यसैबीच, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सचिव डा. रोजनाथ पाण्डेलाई ‘कुलिङ अफ पिरियड’ विषयसँग सम्बन्धित प्रशासनिक छानबिन तथा कागजात अभिलेखीकरणको जिम्मेवारी तोकिएको जानकारी सभामुखलाई गराएका छन्।

