काठमाडौं । इँटाभट्टाको खलामा काम गर्दै एसईईमा ४ जीपीए ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ र उनकी पत्नी सावित्री गुरुङले एमबीबीएससम्मको पढाइ गराउने प्रतिबद्धता जनाएका छन्।
बिहीबार भाटभटेनी कार्यालयमा गोमालाई एक लाख रुपैयाँ नगद, ल्यापटप र सम्मानपत्र प्रदान गरी अध्ययनका लागि सहयोग गर्ने घोषणा गरिएको छ। गुरुङ दम्पतीले सेन्ट जेभियर्स कलेज माइतीघरमा कक्षा ११ र १२ को पढाइ पनि आफ्नै खर्चमा गराउने वचन दिएका छन्।
गुरुङले यसअघि विकट जिल्लाका थुप्रै विद्यार्थीहरूलाई एमबीबीएस पढाइरहेका छन् र अब गोमालाई पनि सहयोगको सूचीमा थपिएको छ।
गोमा चाँगुनारायण नगरपालिका-८ सुडालस्थित इँटाभट्टामा काम गर्दै आर्थिक अवस्था कमजोर भए पनि डाक्टर बन्ने सपना लिएर अध्ययनरत थिइन्। उनको कथा सामाजिक संजाल र सञ्चारमाध्यममा आएपछि गुरुङ दम्पतीले यो सहयोग गर्ने निर्णय गरेका हुन्।
यो सहयोगले गोमाको उज्जवल भविष्यमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

