काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्भावित ग्यास अभावका बेला आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई समेत खाना पकाउने ग्यास बिक्री वितरणको अनुमति दिने तयारी गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले शुक्रबार विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा सुरक्षा निकायका बिक्री केन्द्रमार्फत ग्यास उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिएका हुन्।
उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हाल पेट्रोलियम पदार्थ बिक्री गर्दै आएका छन्। ती निकायका विद्यमान बिक्री केन्द्रमा ग्यास बिक्रीको व्यवस्था थप गर्न सके आपूर्ति असहज भएका बेला उपभोक्तालाई सहज हुने मन्त्रालयको अपेक्षा छ।
सचिव तामाङले पेट्रोलियम पदार्थ बिक्री गर्ने सुरक्षा निकायका बिक्री केन्द्रमा कम्तीमा एक–दुईवटा ग्यास बिक्री केन्द्रसमेत सञ्चालन गर्न सके आपत्कालीन अवस्थामा राज्यलाई ग्यास वितरण व्यवस्थापन गर्न सहज हुने बताए।
सम्भावित ग्यास अभावलाई ध्यानमा राखेर वैकल्पिक वितरण प्रणाली विकास गर्न यस्तो तयारी गरिएको मन्त्रालयको भनाइ छ।
तर, सुरक्षा निकायबाट ग्यास बिक्री गर्ने योजना हाल तयारीकै चरणमा रहेको छ। ग्यास बिक्रीका लागि अनुमति कहिलेदेखि जारी हुने, कुन–कुन स्थानमा बिक्री केन्द्र सञ्चालन हुने र वितरण कहिलेदेखि सुरु हुने भन्ने विषयमा अहिलेसम्म स्पष्ट विवरण सार्वजनिक गरिएको छैन। त्यसैले सुरक्षा निकायका बिक्री केन्द्रबाट ग्यास बिक्री सुरु भइसकेको अवस्था भने होइन।

