काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई अदालतले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा बिहीबार काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित भएका पाठकलाई बयान तथा थुनछेक बहसपछि धरौटीमा छाड्न आदेश दिइएको हो।
न्यायाधीश खेमराज भट्टको इजलासले साइबर अपराधसम्बन्धी आरोपमा उठाइएको मुद्दामा प्रारम्भिक बहसपछि उनलाई धरौटीमा छाड्ने निर्णय गरेको हो।
साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार उनीविरुद्ध मुद्दा दायर गरेको थियो।
‘साइबर ब्युरो ५९’ को नाममा परेको उजुरीमा निवेदकले पाठकले आफ्नो फोटो प्रयोग गर्दै “हिल्टन होटेलमा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री डा. आरजु राणा पुत्र जयवीर देउवाको पैसा” भन्ने भ्रामक शीर्षकसहित सामग्री सार्वजनिक गरेको र यसबाट आफूविरुद्ध द्वेष फैलाउने, घृणा बढाउने र चरित्रहत्या गर्ने प्रयास भएको आरोप लगाएका थिए।
उक्त उजुरीका आधारमा पाठकविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग गर्दै मुद्दा दायर गरिएको थियो।

