काठमाडौँ । रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका तिल्पुङका पर्वतारोही प्रकाश राज पाण्डेलाई गाउँपालिकाले पर्वतारोहीलाई प्रोत्साहन र सहयोगस्वरुप पर्वतारोहणमा प्रयोग हुने विभिन्न सामग्रीहरु प्रदान गरेको छ ।
विश्वका सातै महादेशका उच्च हिमशिखर आरोहण गर्ने सेभेन समिट अभियानमा रहेका पाण्डेलाई उनको पालिकाले एडभेन्चर गियरको प्याकेज प्रदान गर्दै उनको अभियानमा सहयोग गरेको हो ।
यही असार १८ गते गाउँपालिकामा एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष केशव महतले पर्वतारोही पाण्डेलाई सामग्रीहरु हस्तान्तरण गरेका छन् ।
पालिका अध्यक्ष महतले हिमाल आरोहण गर्ने साहसिक र चुनौतीपूर्ण काममा सफल युवा आरोही गाउँपालिकामै रहेकाले समग्र देशले गौरव गर्ने व्यक्तिलाई सहयोग गर्ने अवसर पाएकोमा खुसी रहेको प्रतिक्रिया दिए । गाउँपालिका अध्यक्ष महतले भविष्यमा पनि यस्ता प्रतिभालाई सहयोग गर्ने प्रतिबद्धता गर्दै अन्य पालिकाहरुले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे ।
पर्वतारोही पाण्डेले दक्षिण अमेरिकी महादेशको उच्च शिखरमा पु¥याएको रामेछापको नक्शा अंकित ब्यानर हस्तान्तरण समेत गरेका थिए । पर्वतारोही पाण्डेले आफ्नो स्थानीय सरकारले गरेको सहयोगले समग्र थप उर्जा मिलेको बताए ।
पर्वतारोहणको क्षेत्रमा विशेष उपलब्धि मानिने सेभेन समिट अभियानमा रहेका पाण्डे आगामी महिना इण्डोनेशियामा पर्ने ओसिनिया क्षेत्रको सबैभन्दा अग्लो चुचुरो काष्ट्रेन्ज पिरामिड आरोहणका लागि प्रस्थान गर्दैछन् ।
हालसम्म उनले सगरमाथा सहित निकै चुनौतीपूर्ण रहेको किलर माउन्टेन उपनामले प्रसिद्ध मनास्लु हिमालका साथै युरोप, अफ्रिका र दक्षिण अमेरिका महादेशको सर्वोच्च हिमालहरुको सफल आरोहण गरिसकेका छन् ।

