काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ‘फोन–पे सर्भिस लिमिटेड’को २० प्रतिशत शेयर अब राजेन्द्र खेतान समूहको स्वामित्वमा जान लागेको छ। एफवान सफ्ट ग्रुप अन्तर्गतको कम्पनीले सार्वजनिक गरेको शेयर बिक्री मापदण्डमा ‘हाउस अफ राज’ कम्पनीमात्र छनोटमा परेपछि प्रारम्भिक गोपनीयता सम्झौता (NDA) भइसकेको हो।
विश्वस्त स्रोतका अनुसार खेतान समूहले फोन–पेका २ लाख कित्ता शेयर खरिद गर्न १ अर्ब ४० करोडदेखि १ अर्ब ५० करोड रुपैयाँसम्मको लगानी गर्ने तयारी गरेको छ। तर, खरिद प्रक्रिया सम्पन्न हुन नेपाल राष्ट्र बैंकको स्वीकृति अझै बाँकी रहेको जनाइएको छ।
हाल फोन–पे सर्भिस लिमिटेडमा एफवान सफ्ट ग्रुपको १०० प्रतिशत स्वामित्व (१० लाख कित्ता शेयर) रहेको छ। एफवान सफ्टका प्रमुख लगानीकर्ता विश्वास ढकाल, अस्गर अलि र सम्भव सिरोहिया रहेका छन्। कम्पनीको अध्यक्षता ससिन जोशीले गरिरहेका छन् भने सञ्चालक बोर्डमा सिद्धान्त ठकुरी र सम्भव सिरोहिया पनि छन्।
फोन–पेले विवादरहित, स्वच्छ छविका व्यवसायीहरूलाई मात्र साझेदार बनाउने नीति लिएको थियो, जसमा खेतान समूह मात्रै छनोट भएको हो। यस सहकार्यलाई विश्वास ढकालले फोन–पेलाई अन्तर्राष्ट्रिय बजारमा लैजान चाहेका योजनासँग पनि जोडिएको बुझिएको छ। विश्वास ढकाल, अस्गर अलि र कैलाश सिरोहिया लगायतका लगानीकर्ताले आफ्नो अन्य व्यवसायका लागि नगद पुँजी आवश्यक परेपछि शेयर बिक्री गर्न लागिएको जनाइएको छ।
यता, राजेन्द्र खेतानले अघिल्लो वर्ष गोर्खा ब्रुअरीको करिब १० प्रतिशत शेयर बिक्री गरेका थिए र त्यही आम्दानीबाट फोन–पेमै पुनःलगानी गरिने बुझिएको छ।
फोन–पे : डिजिटल भुक्तानी क्षेत्रको अग्रणी
फोन–पेले सन् २००४ देखि डिजिटल भुक्तानी सेवा सुरु गरेको हो। यसले क्यूआर प्रणालीमार्फत भुक्तानी सहज बनाउँदै आएको छ। ५८ भन्दा बढी संस्थासँगको साझेदारी रहेको यो सेवा ५ लाखभन्दा बढीपटक डाउनलोड भइसकेको छ।
फोन–पे मातृ कम्पनी एफवान सफ्टले ई–सेवा, कोग्नेथ हेल्थ, दियालो टेक, दर्शन टेक, ई–सेवा मनि ट्रान्सफर, एक्सटेन्सो डाटा, लोजिका बिन्स, स्वस्तिक कलेज लगायत ९ वटा सहायक कम्पनी सञ्चालनमा ल्याएको छ।

