काठमाडौं । नेपालले अघिल्लो आर्थिक वर्षमा इतिहासमै पहिलोपटक पौने ३ खर्ब रुपैयाँ बराबरको निर्यात गर्दै कीर्तिमान राखेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, आर्थिक वर्ष २०८१/८२ मा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ। अघिल्लो वर्षको तुलनामा यो ८१.८० प्रतिशतले वृद्धि हो।
यसअघि, २०८०/८१ मा नेपालले १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँ बराबरको निर्यात गरेको थियो। त्यस्तै, सोही अवधिमा नेपालले १८ खर्ब ४ अर्ब रुपैयाँ बराबरको आयातसमेत गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.२५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष १५ खर्ब ९२ अर्ब रुपैयाँको आयात भएको थियो।
निर्यात र आयात दुबै बढे पनि व्यापार घाटा अझै ठूलो रहेको छ। गत वर्ष व्यापार घाटा ६ प्रतिशतले वृद्धि भई १५ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष व्यापार घाटा १४ खर्ब ४० अर्ब रुपैयाँ थियो।
कुल वैदेशिक व्यापारको आकार पनि पहिलोपटक २० खर्ब नाघेर २० खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.२४ प्रतिशतले बढी हो।
कुल व्यापारमा निर्यातको हिस्सा ५२.४७ प्रतिशतले सकारात्मक भए पनि आयातको हिस्सा भने ५.०२ प्रतिशतले ऋणात्मक देखिएको छ।

