काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता साझेदार दुई दलका शीर्ष नेताहरूबीच बालुवाटारमा बसेको बैठक सकिएको छ। बैठकमा संसदमा विचाराधीन रहेका विधेयकहरू टुंगो लगाउने विषयमा मुख्यरूपमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।
बैठकमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, उपमहासचिव विष्णु रिमाल, र महान्यायाधिवक्ता रमेश बडालसहितका नेताहरू सहभागी थिए।
बाहिर मन्त्रीपरिषद हेरफेरको विषय चर्चामा रहे पनि बैठकमा सोबारे कुनै औपचारिक छलफल नभएको स्रोतले जनाएको छ। ‘विचाराधीन विधेयकहरू टुंग्याउने विषयमा छलफल केन्द्रित रह्यो, मन्त्री हेरफेरबारे कुनै कुरा भएन,’ स्रोतले भन्यो।
बैठकमा बागमती प्रदेशमा कांग्रेसभित्र देखिएको किचलो र त्यहाँको सत्ता समीकरणको विषयले पनि चासो पाएको थियो। एक नेताका अनुसार कांग्रेसले बागमती प्रदेश सरकारको विवाद छिट्टै टुंग्याउने प्रतिबद्धता जनाएको छ। "यो हाम्रो आन्तरिक विषय हो, कांग्रेसबाट चाँडै समाधान गरिने भनियो," ती नेताले बैठकपछि बताए।

