काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मङ्गलबार सार्वजनिक गरेका हुन्।
सरकारले अरुण तेस्रो जलविद्युत परियोजना विकासका लागि विकासकर्ता कम्पनी र लगानी बोर्डबिच भएको सम्झौताअनुसार प्रोजेक्ट रिभ्यू प्यानल गठन गर्ने र सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ।
तेस्रो जलविद्युत परियोजना विकासका लागि भएको सम्झौता बमोजिम डा. पवनकुमार श्रेष्ठ, डा पवनकुमार भट्टराई र डा. गणेशप्रसाद न्यौपाने विषय विज्ञ रहेको प्रोजेक्ट रिभ्यू प्यानल गठन गर्ने र सम्झौता स्वीकृत गर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए।
बैठकले नेपालमा शाखा दर्ता गरेर वा स्थायी संस्थापनको रुपमा दर्तामा रहेका एमसीए नेपालको काम गर्ने निर्माण वा सेवा कम्पनीको फण्डबाट आर्जित आयमा आयकर छुट दिने निर्णय गरेको छ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको सेवा सर्त र अन्य सुविधा तोक्ने निर्णय समेत गरेको प्रवक्ता गुरुङले बताए।
त्यस्तै, गृह मन्त्रालयको प्रस्तावमा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय समेत गरेको उनले बताए।

