काठमाडौँ । लमजुङका दुध उत्पादक किसानलाई एक लिटर दुध उत्पादन गरेबापत पाँच रुपैया अनुदान प्रदान गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले दुध उत्पादक किसानलाई उत्पादनमा आधारित अनुदान प्रदान गरेको हो ।
गण्डकी प्रदेश सरकारको दुध उत्सपादनमा आधारित प्रोत्ससाहन कार्यक्रमबाट तीन वटा सहकारी संस्थामार्फत ६ लाख ४४ हजार ८ सय १८ लिटर दुध उत्सपादन गरेबापत पाँच रुपियाँका दरले ३२ लाख २४ हजार ९० रुपियाँ अनुदान वितरण गरिएको छ ।
उक्त अनुदान रकमबाट लमजुङका एकसय ६० जना किसान लाभान्वित भएको पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. सुनिल न्यौपानेले बताए । उनले सहकारी दुध सङ्कलन गरेको दैनिक विवरणको आधारमा अनुदान दिएको बताए । सिधै भन्दा उत्पादनको आधारमा दिइएको अनुदान प्रभावकारी देखिएको कार्यालय प्रमुख न्यौपानेको भनाई छ ।
यसैगरी कृत्रिम गर्भाधानबाट जन्मिएका पाडीबाच्छी हुर्काएवापत ६८ जना कृषकलाई प्रति पाडीबाच्छी रु. १० हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको छ । गत आर्थिक वर्षमा ८३ वटा पाडीबाच्छी हुर्काएबापत अनुदान रकम दिइएको कार्यालयले जनाएको छ ।
यसैगरी बृहत्तर पशु विकास कार्यक्रम अन्तर्गत दुईवटा समूहमार्फत ३७ वटा नयाँ खोर निर्माण गरिएको, दुईवटा फार्ममा तारबार, एउटा डिपिङ ट्याङ्की निर्माण र एउटा बाहिरी सेड निर्माण गरिएको छ । यसैगरी ११ वटा उन्नत नश्लका बोका वितरण, विभिन्न यन्त्र उपकरण वितरण, घाँस खेती प्रवर्धन कार्यक्रम गरी ४८ जना किसानहरु लाभान्वित भएको कार्यालयले जनाएको छ ।
उक्त कार्यक्रमबाट चार मेट्रिकटन मासु उत्पादनमा वृद्धि भएको कार्यालय प्रमुख न्यौपानेले बताए । गत आर्थिक वर्षमा ६७ वटा व्यावसायिक गाईभैँसी फार्ममा एकसय ९७ वटा गाईभैँसीमा भएको थुनेलो रोगको परिक्षण र उपचार गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ ।

