काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि साउन २४ गतेसम्म देशभर २,६७५ वटा विपद् घटना भएका छन्। ती घटनाबाट चार हजार ७२५ घरपरिवार प्रभावित भएका छन् भने ११७ जनाको ज्यान गएको छ।
सो अवधिमा पाँच सय ६४ जना घाइते भएका छन्। बाढीजन्य घटना १९८ रहेकोमा १६ जनाको ज्यान गएको र २१ जना बेपत्ता भएका छन्। बाढीले एक हजार ३१३ घरपरिवार प्रभावित भएका छन्।
पहिरोका कुल २८१ घटना भएका छन् जसमा १३ जनाको मृत्यु र १७ जना घाइते भएका छन्। भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, वन डढेलो, हावाहुरी, जनावर आक्रमण, लेक लाग्ने र भूकम्पसमेतका घटनाहरू पनि भएका छन्।
साउन २४ गतेसम्म मात्रै ३५ विपद् घटना भएका छन्, जसमा पहिरोका १३, आगलागीका चार, बाढी एक, अविरल वर्षा पाँच, चट्याङ एक, लेक लागेको दुई र जनावरको आक्रमणबाट एउटा घटना रहेको छ। ती घटनामा ६ जना घाइते भएका छन्।

