काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले थुनामुक्त गराउन माग गर्दै दायर गरेको निवेदनमाथि रुपन्देही जिल्ला अदालतमा बहस जारी छ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासमा सोमबारदेखि सुनुवाइ भइरहेको हो। उच्च अदालत र त्यसपछि सर्वोच्च अदालतबाट थुनामा राख्न आदेश भइसकेको अवस्थामा लामिछानेले पुनः जिल्ला अदालतमा निवेदन दर्ता गरेका हुन्। उनले आफूले बिगो रकम बुझाउने इच्छा व्यक्त गर्दै २ करोड ७४ लाख ८४ हजार रुपैयाँको प्रभु बैंकको जमानत पत्र पनि अदालतमा बुझाएका छन्।
लामिछानेलाई बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट रकम ठगी तथा संगठित अपराधको आरोपमा पुर्पक्षका लागि थुनामा राखिएको हो। उनी हाल भैरहवा कारागारमा छन्।
उनको निवेदनमा अदालतमा बहस जारी रहेकाले फैसला आउन बाँकी छ। बहसपछि अदालतले लामिछानेले जमानतमार्फत थुनामुक्त हुने कि नहुने भन्नेबारे निर्णय गर्नेछ।
यसअघि सर्वोच्च अदालतले उनलाई थुनामा राख्न उच्च अदालतको आदेश सदर गरिसकेको छ। लामिछानेले भने बिगो रकम बुझाएर मुद्दाबाट छुटकारा माग्दै अदालतमा पुनः प्रयास गरेका हुन्।

