काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्वसाधारणलाई नेप्से एआई नामक भ्रामक एपसम्बन्धी सतर्कता अपनाउन आग्रह गरेको छ।
पछिल्ला केही दिनयता फेसबुक, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जालमार्फत शेयर बजारको विश्लेषण गरी बढी नाफा कमाउन सकिने भन्दै उक्त एप डाउनलोड गर्न प्रेरित गरिने, र इन्स्टल गरेपछि रिमोट सेसन खोली पीडितको बैंक खातामा भएको सम्पूर्ण रकम छिट्टै अन्यत्र पठाइने तथा डिजिटल उपकरणमा रहेको सबै डाटा मेटाइदिने जस्ता घटनाका उजुरीहरू बढ्दै गएको ब्युरोले जनाएको छ।
घटनाको विवरण अनुसार, ‘जोन डोइ’ (सांकेतिक नाम) नामक व्यक्तिले फेसबुकमा देखिएको विज्ञापनबाट उक्त एप डाउनलोड गरी इन्स्टल गरेपछि, रिमोट सेसन खुल्नासाथ उनको मोबाइल स्क्रिन केही समय ब्ल्याक भई विभिन्न बैंक खातामा रहेको २८ लाख ६१ हजार रूपैयाँ रकम अन्यत्र ट्रान्सफर भएको थियो। साथै, मोबाइलमा रहेको सम्पूर्ण डाटा र अन्य एपसमेत मेटाइएको थियो। यसअघि पनि यस्तै प्रकृतिका ठूला घटना र उजुरीहरू प्राप्त भइसकेको ब्यूरोले जनाएको छ ।
ब्युरोले यस्ता आपराधिक क्रियाकलापबाट बच्नका लागि निम्न सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ:
दुई चरणको प्रमाणीकरण (टु(फ्याक्टर अथेन्टिकेसन) प्रयोग गर्ने, सकेसम्म एसएमएसमार्फत।
पासवर्डहरू समय-समयमा परिवर्तन गर्ने।
विज्ञापनमार्फत आएको वा अपरिचित लिङ्कबाट प्राप्त एप कहिल्यै इन्स्टल नगर्ने।
आफ्नो डिजिटल उपकरणमा अपरिचित व्यक्तिलाई ‘एनीडेस्क’, ‘टिम भ्युअर’ जस्ता रिमोट एक्सेस नदिने।
गुगल प्ले स्टोर वा आईओएस एप स्टोर जस्ता आधिकारिक स्रोतबाट मात्र एप डाउनलोड गर्ने।
ब्युरोले यस्ता घटना घटेको थाहा पाउनासाथ सम्बन्धित बैंक तथा वित्तीय संस्था, नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा तत्काल खबर गर्न आग्रह गरेको छ।

