काठमाडौं । आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर श्रद्धा–भक्तिसहित मनाइँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मानिन्छ। यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।
भक्तजनहरूले देशभरका कृष्णमन्दिरमा पूजा–आराधना, प्रवचन र भजनकीर्तन गर्ने परम्परा छन्। विशेषगरी महिला र पुरुषले व्रत बसेर रातभर जाग्राम बस्ने चलन छ।
भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जीवनको रक्षा गर्न प्रेरणा दिएका थिए। कुरुक्षेत्र युद्धमा अर्जुनलाई दिएका उपदेशमार्फत जन्मिएको ‘श्रीमद्भागवत गीता’ विश्वकै सर्वाधिक भाषामा अनुवाद भएको पवित्र ग्रन्थ मानिन्छ। बाल्यकालदेखि नै आफ्ना विचित्र लीला प्रदर्शन गर्दै कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको नाश गरेका श्रीकृष्णको कथाहरू पौराणिक ग्रन्थमा उल्लेख छन्।
आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ। यस्तै, कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधाम, बूढानीलकण्ठस्थित नेपाल अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत संघ (इस्कोन) र राजधानीका अन्य कृष्णमन्दिरमा पनि भक्तजनको भीड लागिरहेको छ।
पर्वका अवसरमा काठमाडौँका विभिन्न धार्मिक संघसंस्थाहरूले श्रीकृष्णको झाँकीसहित शोभायात्रा र रथयात्रा समेत निकाल्ने परम्परा कायम छ।

