काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा आज (भदौ १ गते) काठमाडौं आइपुगेका छन्। विमानस्थलमा अवतरण गरेलगत्तै उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।
मिश्रीले बिहान १०:३० बजे प्रधानमन्त्री ओलीलाई भेटिसकेपछि शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनी बुढानीलकण्ठ पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग र खुमलटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट्नेछन्।
भेटघाटपछि मिस्री र परराष्ट्र सचिव राईबीच दुईपक्षीय वार्ता हुनेछ। सोही क्रममा प्रधानमन्त्री ओलीको आगामी भारत भ्रमणका एजेन्डा तय गरिने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
सचिव स्तरीय वार्तापछि मिस्रीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट्ने कार्यक्रम छ। त्यसपछि सचिव राईले मिस्रीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन्।
भदौ २ गते उनले पशुपतिनाथको दर्शन गरी स्वदेश फर्किने तय भएको छ। यसअघि नै प्रधानमन्त्री ओलीले भदौ ३१ र असोज १ गते भारत भ्रमण गर्ने कार्यक्रम तय भएको छ।

