काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरुलाई आकस्मिक रुपमा संसदीय दलको कार्यालयमा बोलाएका छन् ।
उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारी गरेको कांग्रेसले छलफल र हस्ताक्षरका लागि सांसदहरूलाई बोलाएको बताइएको छ । १२ बजेभित्र सांसदहरू दलको कार्यालयमा उपस्थित भइसक्नुपर्ने छ ।
यस्तै, सत्तारुढ दल नेकपा एमालेले पनि साढे १० बजे आफ्ना सांसदहरूलाई दलको कार्यालयमा उपस्थित हुन भनिसकेको छ ।
उपसभामुख रानामगरले संसद सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि छानबिनको माग भइरहेको थियो ।
उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास यसअघि पनि भएको थियो ।

