काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिक दलहरूले देशमा सुशासन कायम गर्न नसकेको औँल्याउँदै संसद् नै निरीह थलो बनेको बताएकी छन्। उनले यो कुरा बिहीबार मदन भण्डारी फाउन्डेशनको सम्पर्क कार्यालय उद्घाटन समारोहमा उठाएकी हुन्।
भण्डारीले भनिन्, “कार्यक्रम कस्तो बनाउने भन्ने कुरामा ध्यान पुग्न सकेको छैन। पुराना दलहरूले अहिलेको संविधानमा प्रश्न उठाएका छन् र संशोधनमा सहमति जनाएका छन्। तर संविधानमा के अभाव छ र देशको आवश्यकता पूरा गर्न के गर्नुपर्छ भन्ने स्पष्ट भएको छैन।”
साथै उनले जननिर्वाचित प्रतिनिधिहरूको हकमा आरोप लाग्नेबित्तिकै निलम्बन हुनु कतिको लोकतान्त्रिक हो भन्ने प्रश्नसमेत उठाइन्। भण्डारीले सांसदहरूमा लागेका आरोपको आधारमा तत्काल निलम्बन गर्ने व्यवस्था न्यायसंगत नभएको भन्दै आपत्ति जनाइन्।

