काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले न्यौपानेलाई सभापतिका लागि अघि सार्ने निर्णय गरेको हो।
यसअघि उक्त समितिका सभापति रहेका रामहरि खतिवडाले पदबाट राजीनामा दिएपछि नयाँ सभापतिको खोजी हुँदै आएको थियो।
कांग्रेसले खतिवडाको स्थानमा न्यौपानेलाई पठाउने र खतिवडालाई सुनुवाइ समितिको सभापतिमा स्थानान्तरण गर्ने तयारी गरेको स्रोतले जनाएको छ।
न्यौपाने यसअघि सुनुवाइ समितिकी सभापति रहिसकेकी थिइन्। पार्टी स्रोतका अनुसार दुवै समितिमा जिम्मेवारी पुनःव्यवस्था गरेर पदस्थापन मिलाउने सहमति बनेको छ।

