काठमाडौं । प्रतिनिधिसभा उपनिर्वाचन नजिकिँदै गर्दा रूपन्देही–३ मा उम्मेदवार चयन प्रक्रिया सुरु गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य राजनीतिक दलभन्दा बिल्कुलै फरक अभ्यास सार्वजनिक गरेको छ। उम्मेदवार छान्न रास्वपाले पहिलोपटक मोबाइल एपमार्फत डिजिटल प्राइमरी इलेक्सन सुरू गरेको छ, जुन नेपालमा स्थापित दलहरूले प्रयोग नगरेको अभ्यास हो।
रास्वपाबाट उपनिर्वाचनमा उम्मेदवार बन्ने आकांक्षासहित ९ जनाले दाबी प्रस्तुत गरेका छन्। तीमध्ये सुलभ खरेल, पार्थिवेन्द्र उपाध्यक्ष, डा. लेखजङ्ग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन्।
रास्वपाले पार्टी नेतृत्व विकासका लागि सञ्चालन गर्दै आएको लिडरसिप एकेडेमीको मूल्याङ्कनसहित उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको हो। रूपन्देही–३ का उपनिर्वाचन कमान्डर तथा रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार, प्राइमरी इलेक्सन बिहीबार बिहान ७ बजेबाट सुरू भई शुक्रबार साँझ ७ बजेसम्म चल्नेछ। मोबाइल एपमार्फत हुने मतदानमा पार्टी सदस्यहरू, स्थानीय तहगत समिति सदस्यहरू र केन्द्रीय सदस्यहरूले भाग लिन पाउनेछन्।
“नन अफ् द एभोब” को अप्सन
चुनावको पारदर्शिता र सदस्यको स्वतन्त्रता सुनिश्चित गर्न ुकुनै पनि उम्मेदवार रोज्दिनँु भन्ने विकल्प पनि मतपत्रमा राखिएको छ, जसलाई ‘नन अफ् द एभोब’ भनिएको छ। यो विकल्पले आम मतदाताको रायलाई सम्मान दिने र जबर्जस्ती उम्मेदवार थोपर्ने परम्परालाई चुनौती दिने लक्ष्य राखिएको छ।
५०% भारांकको डिजिटल प्राइमरी, बाँकी लिडरसिप मूल्यांकन
आचार्यका अनुसार प्रारम्भिक निर्वाचन (प्राइमरी) को कुल प्रक्रिया मध्ये ५० प्रतिशत भारांक यही डिजिटल मतदानमा आधारित हुनेछ। बाँकी ५० प्रतिशत लिडरसिप एकेडेमीले तयार पारेको मूल्याङ्कन प्रणालीमा आधारित छ।
डिजिटल प्राइमरीको ५० प्रतिशत भारांकन पनि तीन भागमा बाँडिएको छ । स्थानीय पार्टी सदस्यहरूको मत ८०%, तहगत समितिका मत १०% र केन्द्रीय सदस्यहरूको मत १०%
अन्य दलले देखाएको छैन यस्तो पारदर्शिता
अन्य परम्परागत राजनीतिक दलहरूले बन्द कोठा बैठक, गुटबन्दी र नेताको एकल निर्णयबाट उम्मेदवार छान्ने परम्परा कायम राखिरहेका बेला रास्वपाले भने डिजिटल, खुला र सहभागीमुखी प्रक्रिया मार्फत उम्मेदवार चयन गर्दै लोकतान्त्रिक अभ्यासलाई नयाँ मोड दिएको छ।
रास्वपाले भदौ १५ गते उम्मेदवारको नाम सार्वजनिक गर्ने जनाएको छ। प्रतिनिधिसभा उपनिर्वाचन आगामी कात्तिक १७ गते हुँदैछ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित सांसद दीपक बोहराको निधनपछि रूपन्देही–३ मा उपनिर्वाचन हुन लागेको हो। उम्मेदवारी दर्ता असोज २१ गते तोकिएको छ।

