काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका विभिन्न स्थानमा गरिएको बजार अनुगमनका क्रममा १९ वटा व्यावसायिक फर्ममाथि कारबाही गरेको छ। विभागले उपभोक्ता संरक्षण ऐन विपरीत गतिविधि सञ्चालन गरिरहेका फर्महरूलाई अनुगमन गर्दै कारबाही प्रक्रिया अघि बढाएको हो।
अनुगमनका क्रममा व्यवसाय दर्ता, बिलबिजक तथा मूल्य सम्बन्धी आधारभूत प्रमाण प्रस्तुत गर्न नसक्ने ७ वटा फर्मलाई विभागले तत्काल जरिवाना गरेको छ। ती फर्महरूलाई कूल १ लाख ३१ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
तीमध्ये चन्द्रागिरि नगरपालिका–११ स्थित श्री साई इन्टरप्राइजेजलाई सबैभन्दा बढी ५१ हजार रुपैयाँ जरिवाना गरिएको छ। काठमाडौं–२६ को गुप्ता खुद्रा भण्डार र वडा नं. १६ को बिजी कलेक्सन सेन्टरलाई समान २०–२० हजार रुपैयाँ जरिवाना गरिएको छ। वडा नं. २२ मा रहेको संकटा उपभोक्ता सहकारी संस्था लिमिटेडलाई १५ हजार, वडा नं. १६ स्थित तिम्सिना फेन्सी स्टोर र एनएस टेलरलाई १०–१० हजार र एबी फेन्सी कलेक्सन सेन्टरलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
यसबाहेक, विभागले अन्य १२ वटा प्रतिष्ठानमाथि पनि विभिन्न प्रकारका कारबाहीहरू गरेको छ। जसमध्ये ५ वटा फर्मलाई तीन दिनभित्र सम्पूर्ण कानुनी कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। ती फर्महरूमा एन्जल सु सेन्टर, अर्बन क्लोजेट, जोशी ब्याग कलेक्सन, राजेश मोबाइल तथा घडी सेन्टर र रचना सुज सेन्टर रहेका छन्।
त्यस्तै, बाँकी ७ वटा फर्मलाई अनुगमनका क्रममा देखिएका सामान्य त्रुटिहरू तत्काल सुधार गर्न निर्देशन दिइएको छ। ती फर्महरूमा जानकी तरकारी तथा फलफूल पसल, ब्रिअन्ड डी सुज कलेक्सन, कालिका ट्रेड लिंक, नितिषा फुड्स, ओम यूके सप्लायर्स, बेकरी डी पेरिस प्रालि र पिंक स्पोर्ट्स रहेका छन्।
विभागले उपभोक्ताको हकहित र बजार अनुशासन कायम गर्न बजार अनुगमनलाई थप सक्रिय बनाउने जनाएको छ।

