काठमाडौँ । भिजिट भिसाको दुरुपयोग प्रकरणलाई लिएर लामो समयदेखि संसद् बहिष्कार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणसम्बन्धी सम्बोधनका बेला संसद् बहिष्कार नगर्ने निर्णय गरेको छ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे जानकारी दिने कार्यक्रम छ। चीन भ्रमणका लागि शनिबार प्रस्थान गर्न लागेका ओलीले संसद्मार्फत भ्रमणका उद्देश्य र तयारीबारे जानकारी गराउने बताइएको छ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बिहीबार सभामुखसँगको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “प्रधानमन्त्रीले संसद्मा बोल्न पाउनु उहाँको अग्राधिकार हो। त्यसैले हामी सम्बोधनका बेला बहिष्कार गर्ने छैनौं।”
उनका अनुसार, रास्वपा अझै पनि संसद्मा आन्दोलनरत नै रहेको भए पनि कतिपय संवैधानिक अभ्यास र प्रक्रियालाई सम्मान गर्ने सन्दर्भमा लचिलो बनेको छ।
“हामी निरन्तर संसदमा आन्दोलनमै छौँ,” परियारले भने, “तर कतिपय गर्नुपर्ने कामहरूमा हामीले ख्याल पनि गरेका छौँ। प्रधानमन्त्रीज्यूले विदेश भ्रमणको विषयमा जानकारी दिन खोज्नुभएको होला। त्यो उहाँको कुरा हो। समय मागेपछि बोल्न पाउनु उहाँको अधिकार हो।”
रास्वपाले भिजिट भिसा दुरुपयोगसम्बन्धी अनुसन्धान र कारवाहीको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ।

