काठमाण्डौ । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार बिहान सिंहदरबार पुगेर आधिकारिक रूपमा कार्यभार सम्हाल्दैछिन्। गत शुक्रबार साँझ जेनजी आन्दोलनको दबाबपछि प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले ६ महिनाभित्र चुनाव गराउने सर्तमा नियुक्त गरेका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बिहान साढे ११ बजे सिंहदरबार पुगेर कार्कीले कार्यभार सम्हाल्ने तयारी भएकाे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएकाे छ। आन्दोलनको क्रममा भदौ २४ गते सिंहदरबारमा आगजनी हुँदा प्रधानमन्त्री कार्यालयसहितका विभिन्न मन्त्रालयहरू क्षतिग्रस्त भएका थिए।
अहिले प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनमा सञ्चालन गरिने तयारी छ। प्रवक्ता रविलाल शर्माका अनुसार, आगलागीबाट बचाइएका पुराना सामग्रीहरूमै आधारित रहेर तत्कालीन कार्यसञ्चालन गरिनेछ।

