२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • अनावश्यक प्रतिशोधको राजनीति नगर्न नागरिक समाजका...

अनावश्यक प्रतिशोधको राजनीति नगर्न नागरिक समाजका अगुवाहरूको चेतावनी

अनावश्यक प्रतिशोधको राजनीति नगर्न नागरिक समाजका अगुवाहरूको चेतावनी

बिहिवार, आश्विन २ २०८२१२:२३
बिहिवार, आश्विन २ २०८२१२:२३
  • images

    काठमाडौँ । नागरिक समाजका अगुवाहरूले अन्तरिम सरकारको प्रमुख दायित्व प्रतिनिधिसभा चुनाव भएकाले यसबाहेक अन्य दायाबायामा नलाग्न राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेका छन्।

    बिहीबार शीतल निवासमा भेट गर्दै उनीहरूले राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाएका थिए। भेटका क्रममा नागरिक समाजका अगुवाहरूले दलहरूले अनावश्यक प्रतिशोधको राजनीति नगर्न चेतावनी दिँदै त्यसो भए अनावश्यक तनाव सिर्जना हुने बताएका छन्।

    “लोकतन्त्रको आधारस्तम्भ आम नागरिक र राजनीतिक दल भएकाले उनीहरूको भूमिकालाई न्यूनीकरण गर्ने, दलविरुद्ध प्रतिशोध साध्ने वा संवैधानिक संरचनालाई असंवैधानिक ढंगले चलाउने कार्य भएमा अर्को द्वन्द्व र तनाव सिर्जना हुन्छ,” ज्ञापनपत्रमा भनिएको छ।

    वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार भेटमा राष्ट्रपति पौडेलले असाधारण परिस्थितिमा आफूले भूमिका खेल्नुपरेको स्पष्ट पारेका थिए। उनले भने, “हामीले छ महिनाभित्र जसरी पनि चुनाव गर्नुपर्नेमा जोड दिएका छौँ। अनावश्यक अध्यादेश आउन सक्ने भएकाले त्यसबारे सचेत रहन राष्ट्रपतिको ध्यानाकर्षण गराएका छौँ।”

    नागरिक अगुवाहरूले आन्दोलनकारीको मागअनुसार सुशीला कार्की प्रधानमन्त्री भइसकेकाले अब सरकारले जेनजी आन्दोलनकारी, दल र नागरिक समाजसँग समन्वयात्मक ढंगले काम गर्नुपर्ने धारणा राखेका छन्।

    “त्यस्तो समन्वय गर्न, आपसी समझदारी बढाउन र विश्वासको वातावरण बनाउन राष्ट्रपतिको योगदान महत्त्वपूर्ण हुन्छ,” उनीहरूले भनेका छन्, “राष्ट्रिय सभाको जिम्मेवारीपूर्ण परिचालन पनि संविधानसम्मत कदम हुनेछ भन्ने हाम्रो मान्यता छ।”

    नागरिक अगुवाहरूले राजनीतिक दललाई समेत अहिलेको परिस्थितिको बोध गर्दै शान्तिपूर्ण राजनीतिक संक्रमणमार्फत लोकतन्त्रलाई सुदृढ गर्न, युवाहरूका न्यायोचित आकांक्षा पूरा गर्न र प्रतिनिधिसभा चुनाव सफल बनाउन आह्वान गरेका छन्।

    साथै, अन्तरिम प्रधानमन्त्रीको सिफारिसमा संसद् विघटन गरिनु संविधानसम्मत नभएको, यसले अन्तरिम सरकार र दलबीच दूरी बढाएको मात्र होइन संविधान रक्षामा उभिएका पेसागत संघसंस्थाको आस्थामा समेत आघात पु¥याएको उनीहरूको आरोप छ।

    “चुनावको मिति तय भइसकेको अवस्थामा संविधानका केही धारामा लागेको ग्रहण अस्थायी होस् भन्ने हाम्रो चाहना हो,” उनीहरूले भनेका छन्, “यो विशेष परिस्थितिमा राजनीतिक दल, जेनजी आन्दोलनकारी र नागरिक समाज सबै मिलेर चुनाव सम्पन्न गर्न र संवैधानिक व्यवस्थालाई यथावत् सक्रिय बनाउन सहयोग गर्नु सबै नेपालीको दायित्व हो।”

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend